सोमबार, जेठ २७, २०८२

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

नेपालखोज २०८२ जेठ २७ गते २०:२५

काठमाडौं । लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गतको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतका साथ दोस्रो भयो । गण्डकी र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कास्यका साथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक–एक स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दोस्रो तथा अन्तिम दिन छात्ररछात्रामा समान तीन–तीन गरी छ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

छात्र २०० मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए । उनले निर्धारित दूरी २४ दशमलव नौ सेकेन्डमा पूरा गरे । मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१ दशमलव चार सेकेन्ड समय खर्चिन् । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बनिन् ।

नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रालिको सहआयोजना तथा नेपाल विद्यालय खेलकुद महासङ्घको संयोजनमा भएको प्रतियोगिताको छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ०७ दशमलव चार सेकेन्ड समय निकाले ।

कर्णालीका विवेक बोगटीले रजत तथा कोशीका नितेश भट्टराईले कास्य हात पारे । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७ दशमलव तीन सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भए ।

छात्र चार गुणा १०० मिटर रिलेमा मधेस पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

प्रतिक्रिया