२५ खर्ब १२ अर्बको विदेशी मुद्रा सञ्चिती: १४ महिना ६ दिनको आयात धान्न पर्याप्त : राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय नेपालमा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको प्रतिवेदन अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३ दशमलव एक प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २० दशमलव पाँच प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९ दशमलव छ प्रतिशतले बढेर २२ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब एक अर्ब ८३ करोड कायम भएको छ ।
२०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव दुई प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ महिना चार दिनको वस्तु आयात र १४ महिना छ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदाय सँगका अनुपातहरू क्रमशः ४१ दशमलव एक प्रतिशत, एक सय २१ दशमलव चार प्रतिशत र ३३ दशमलव आठ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९. दशमलव तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया