युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् ।
पक्राउ मध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका–२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
लागूऔषध (गाँजा) मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका–६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–६ चपाचोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौंको नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोक बस्ने ६६ वर्षीय झुपलाल गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपलाल समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
गोकर्णेश्वर नगरपालिका–१ चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा उनकै मामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया