बुधबार, जेठ २९, २०८२

लाओसविरुद्धको खेलमा नेपालको ‘प्लेइङ ११’ सार्वजनिक

नेपालखोज २०८२ जेठ २८ गते १८:२१

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत घरेलु टोली लाओसविरुद्धको खेलका लागि नेपालले पहिलो रोजाइका खेलाडीको नाम सार्वजनिक गरेको छ ।

लाओसको राष्ट्रिय रङ्गशालामा हुने उक्त एएफसी एसियन कप–२०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले घरेलु टोली लाओसविरूद्ध खेलका लागि प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

प्लेइङ ११ मा नेपाली टोलीका कप्तान किरण चेम्जोङसहित विमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश गुरुङ, अञ्जन विष्ट, रोहित चन्द, अरिक विष्ट, आयुष घलान, मनिष डाँगी र लकेन लिम्बू छन् ।

उक्त खेल अहिले साँझ ५ः४५ बजेबाट सुरु भएको छ । त्यसअघि प्लेइङ ११ खेलाडीको नाम सार्वजनिक गरिएको हो । तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियासँग २–० गोलअन्तरले पराजित भएको थियो ।

यही खेलको तयारी स्वरूप नेपालले हङकङसँग अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल पनि खेलको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यता लाओसको पनि तेस्रो चरणको दोस्रो खेल नै हो । लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो । नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् ।

समूहमा रहेका प्रत्येक टोलीले ‘होम एण्ड अवे’को आधारमा कूल छ खेल खेल्ने छन् । त्यसपछि समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९ औँ एसियन कपमा स्थान बनाउनेछ । -रासस

प्रतिक्रिया