बिहीबार, जेठ ३०, २०८२

आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौं : अध्यक्ष दाहाल

नेपालखोज २०८२ जेठ २८ गते २०:५७

गण्डकी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताएका छन् । माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताए ।

‘बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ’, उनले भने, ‘पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ ।’

पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उनको भनाइ थियो । ‘आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ’, अध्यक्ष दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादको बाटोमा मुलुकलाई लैजान माओवादीले सक्छ ।’

उनले नेपाली मौलिकता र विशेषताको समाजवाद स्थापनाका लागि आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राखे । समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सुरू भएको उनको भनाइ थियो ।

प्रतिक्रिया