बिहीबार, जेठ ३०, २०८२

पूण्यभूमी पोखरालाई कलंकित गर्ने नमीता-सुनीता हत्याकाण्ड

नेपालखोज २०८२ जेठ २९ गते ९:१६

२०३८ सालको जेठ २४ गते अचानक पोखरा घुम्न आएका युवतीहरू हराए । ती तीन युवती जेठ १८ गते काठमाडौंबाट पोखरा तर्फ हिडेका थिए । उनीहरूका साथमा अन्य आफन्त पनि थिए । पोखरा पुगेपछि आफन्तका डेरा बगाले टोलमा पुगे । तीन मध्य दुई बगाले टोल बसे भने अर्की एक आफ्नै काकाको घर विन्ध्यवासिनी भएको हुँदा उतै गए । भोलीपल्ट बिहानै ती एक ट्याक्सीमा बगाले टोल आएर दुई साथीलाई पनि लिएर पोखरा घुम्ने कार्यक्रम अनुरूप लिएर बगाले टोलबाट हिँडे ।

१८ गते देखि बगाले टोलमा बसिरहेका दुई पनि २२ गते देखि साथीको काकाको घर विन्ध्यवासिनी नै बस्न गएका थिए । २२ र २३ गते पोखराको विभिन्न स्थान घुम्ने तथा पूर्णिमा सिनेमा हलमा फिल्म समेत हेरेका तिनीहरू २४ गते बिहान भने बेगनास ताल घुम्ने योजनामा थिए । बेगनास पुगे पुगेनन् वा बिचैमा अन्त घुम्ने योजना अनुरूप हिँडेका थिए, कसैलाई थाहा भएन । २४ गते राती घर नआउँदा काका काकीले बगाले टोलमा नै बसेको सोचेर सोधखोज गरेनन् । २५ गते पनि घर नआए पछि बगाले टोल पुगे । त्यहाँ दुई दिन देखि नआएको भन्ने जानकारी भए पछि तत्काले खोजी भयो । निकै खोजी गरे पनि कुनै आफन्तको पुगेको देखिएन ।

४४ वर्ष अगाडिको यो घटना चर्चित “नमीता सुनिता हत्याकाण्ड” थियो । पोखरा सेरोफेरोमा निकै चर्चामा रहेको यस घटनामा जम्मा गरी चार जनाको हत्या भएको थियो । ती चार जना दुई दिदीबहिनी नमीता र सुनिता भण्डारी, अर्की विन्ध्यवासिनी बस्ने नीरा पराजुली तथा वनपाले चूडामणि अधिकारी थिए । नमीता र सुनिताका बुबा माधवराज भण्डारी सरकारी उच्च पदस्थ कर्मचारी हुन भने नीराका बुबा थीरमणी पनि सरकारी जागिरे नै थिए भने चौथा चूडामणि भने नवविभागमा वनपालेका जागिरे थिए ।

तीन युवती हराएको पाँचौ दिन जेठ २९ गते कान्छी बहिनी नमीताको शव फेला पर्‍यो । असार ६ गते सुनीताको शव फेला पर्‍यो । तर नीराको शव भने फेला परेन । तर असार ६ गते सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय पुगेका घटनाका एक मात्र साक्षी बन्न सक्ने चूडामणि पनि असार ७ गते बिहानबाट हराए । उनको शव असार १२ गते रामघाटमा फेला पर्‍यो । महिनौ पछि असोज ४ गते सेतीमा बोरामा कोचिएको अवस्थामा महिलाको सडे गलेको शव देखिएको जानकारी प्रहरी कार्यालयमा पुगे पनि सो शव उठाउने कार्य समयमा नगरिँदा भोलिपल्ट सेतीले बगाएर लगेको थियो । यो कार्य पनि नियोजित भएको आशङ्का गरियो ।

यसरी पोखराको पूण्यभूमीमा तीन युवती र एक वनपालेको हत्या भयो । यस विषयमा न त गहिरो अनुसन्धान भयो, न त कुनै शङ्कास्पद माथि मुद्दा नै चलाइयो । यस घटनाका पछाडि सेनाका ठुला अफिसर, एक ठुला होटलका मालिकको छोरा तथा दरबार भित्रको एक सदस्य माथि स्वतन्त्र खोजकर्ताहरूबाट शङ्कास्पद रूपमा उल्लेख गरिएको थियो । तर पनि कसै माथि पनि सोधपुछ पनि भएन ।

यस दुखद घटना भएको २० वर्ष पछि नेपालको इतिहासमा बिर्सनै नसकिने राजदरबार हत्याकाण्ड भयो । राजदरबार हत्याकाण्डले हरेक जनता शोकमा डुबे । नमीता सुनिता हत्याकाण्ड मध्यका एक युवती नमीताको शव फेला परेको ठ्याक्कै २० वर्ष पछि २०५८ जेठ २९ गते पोखरामा भएको पुनरावेदन सरकारी वकिल कार्यालयले जिल्ला वकिल कार्यालयलाई “हाललाई कोही कसै उपर मुद्दा नचलाउने गरी ….” भन्दै सो फाइल सदाका लागि बन्द गरियो ।

प्रतिक्रिया