बिहीबार, जेठ ३०, २०८२

चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

नेपालखोज २०८२ जेठ २९ गते ११:५८

झापा । नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गरेका छन् ।

उनले विर्तामोड नगरपालिका-८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड-९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका-६ स्थित शनिश्चरे माध्यमिक विद्यालयका ४० विद्यार्थीलाई १० हजार रूपैयाँका दरले छात्रवृत्ति प्रदान गरे ।

उनले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्नुभयो भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । उनले चिनियाँ राजदूतावासको ५० हजार रूपैयाँ सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत माविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गरे ।

राजदूत चेन सोङले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको बताए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

उनले आजै दूतावासकै सहयोगमा बन्न लागेको देवकोटा आधारभूत मावि भवनको समेत शिलान्यास गरे । चिनियाँ राजदूत सोङले विर्तामोडका दुई माछा फार्म र अर्जुनधारामा रहेका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने बताए ।

उनले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री, सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया