बिहीबार, जेठ ३०, २०८२

नेपाल-चीनको तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय

नेपालखोज २०८२ जेठ २९ गते १४:२२

काठमाडाैं । सरकारले नेपाल-चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने व्यापार सहजीकरण समितिको १३औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले असार १० देखि १२ गतेसम्म चीनको बेइजिङमा हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड आफ गभर्नसको बार्षिक बैठकमा सहभागी हुन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै निर्माण व्यवसायसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । बैठकले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तह अतिरिक्त स्वास्थ्य सचिव पदमा डा केशर बहादुर ढकाल र डा श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल गुणस्तर(प्रमाणपत्र) तेश्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएका प्रवक्ता गुरुङले बताए ।

प्रतिक्रिया