वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ घर भएका ६० वर्षीय लक्ष्मण चापागाई, काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-४ घर भएका ३९ वर्षीय अशोक मण्डल, काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ घर भएका २० वर्षीय बाल सुन्दर भारती र काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।
पक्राउ मध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १४ हजार रूपैयाँ, अशोकले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र चण्डिकाले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लक्ष्मणलाई काठमाडौं टेकुबाट र अशोकलाई काठमाडौं गौशालाबाट मंगलबार तथा बाल सुन्दरलाई काठमाडौं न्यूरोडबाट र चण्डिकालाई काठमाडौं गौशालाबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया