शुक्रबार, जेठ ३१, २०८२

मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास

नेपालखोज २०८२ जेठ २९ गते १९:३७

मनाङ । मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ ।

मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ ।

नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मनसुन विपद् उद्धार अभ्यास एवं डेमोस्टे«सन’ गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुनसक्छन्, त्यस अवस्थामा उद्धारका अभ्यासले टेवा पु¥याउने बताए ।

नेपाली सेना र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनामा खोज तथा उद्धार गर्दै आएको छ ।

बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ । अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।

भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मङ्सिर, पुस र माघमा ‘लु’ तथा ‘डिहाइड्रेसन’, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विसं २०७८ जेठ २९ र असार १ गतेको बाढीको डुबानमा परेका तालगाउँमा उद्धार अभ्यास गरिएको छ । जसले यहाँका स्थानीयवासीलाई उद्धारका अभ्यासले जनचेतना जगाउनेछ ।

प्रतिक्रिया