शनिबार, जेठ ३२, २०८२

भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा

नेपालखोज २०८२ जेठ ३० गते ५:४७

त्रिवेणी (नवलपरासी) । नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको स्थानीय अमृत विकले बताए । कावासोती–४ की होमकुमारी परियारले पनि लालपुर्जा प्राप्त गर्दा अब मेरो नाममा पनि माटो छ भने धेरै खुसी लागेको सुनाइन् ।

पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चैबाजा बजाएर उत्सव मनाएका थिए । नगरपालिकाभित्र भूमिहीन दलित ६९७, भूमिहीन सुकुम्वासी एक हजार २४० र अव्यवस्थित बसोबासी पाँच हजार ५९६ जनाले फारम भरेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिए । पालिकाले आफ्नो स्तरबाट पुर्जा वितरणका लागि काम अगाडि बढाएको र पूर्जा वितरणको काम वडा नं ४ बाट सुरु गरिएको उनले बताए ।

नगर प्रमुख विष्णुप्रसाद भुसालले वडा नं ४ बाट सुरु गरिएको यस कार्यलाई भूमि समस्या समाधान आयोगसँग समन्वय गरेर क्रमशः अन्य वडामा पनि अगाडि बढाइने बताए । लालपुर्जा वितरण प्रक्रिया केही झन्झटिलो रहेकाले त्यसलाई सरल बनाउँदै लैजानुपर्ने उनले बताए ।

यहाँ हालै गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक लालपुर्जा वितरण सुरु गरेको हो । यसअघि गठन गरिएको आयोगले जिल्लामा करिब ३०० लालपुर्जा वितरण गरिसकेको आयोगका विज्ञ सदस्य होमनाथ जैसीले जानकारी दिए ।

नवलपुरमा करिब ३५ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले फारम भरेका छन् । जिल्लाका आठ पालिकामध्ये अधिकांशमा जग्गा नापीको काम सकिएको र अब क्रमशः स्थानीय तहको समन्वयमा पुर्जा वितरण अघि बढाइने उनले बताए ।

वडा नं ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले वडामा बसोबास गरिरहेका भूमिहीनलाई जग्गाको मालिक बनाउने कार्यमा सहजीकरण गर्न पाउँदा धेरै खुसी लागेको बताए । छिट्टै अव्यवस्थित बसोबासीलाई पनि पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

भूमिहीन दलित र सुकुम्वासीलाई पुर्जा वितरण गर्दै पूर्वसांसद तिलक महतले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि जिल्लामा पहिलोपटक पुर्जा वितरणको काम सुरु भएको बताए ।

वर्षौंदेखि भूमिहीन भएर बस्दै आएकाहरूले अब आफ्नो अधिकार प्राप्त गर्न थालेको उल्लेख गर्दै उहाँले यस कार्यलाई आयोगले तीव्रता दिनुपर्ने बताए । -रासस

प्रतिक्रिया