शुक्रबार, जेठ ३१, २०८२

बजेट अभावमा विद्यालय भवन अधुरो

नेपालखोज २०८२ जेठ ३० गते ९:५५

राँझा (बाँके) । राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयको निर्माणाधीन भवन पर्याप्त बजेट नहुँदा अधुरो छाडिएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा दुई कोठे भवन निर्माण थालिएकामा रकम अपर्याप्तताका कारण अधुरै रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद रेग्मीले राससलाई बताए ।

कक्षाकोठा अभाव भएकाले प्रदेश सरकारको सहयोगमा काम थालियो तर पर्याप्त पैसा नहुँदा भवन बनाउन सकिएको छैन, अध्यक्ष रेग्मीले भने, भवन नहुँदा विद्यार्थी टिनको छानामुनि पढ्न बाध्य छन् । कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा हाल चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।

तराईको गर्मीमा टिनको छानामुनि पढ्नुपर्ने बाध्यताबाट बालबालिकालाई मुक्त गर्न आफूहरु क्रियाशील रहेको राप्ती सोनारी गाउँपालिका वडा नंं ९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । दाता तथा सरकारी निकायसँग भवन पूरा गर्न आवश्यक रकमको व्यवस्थाका लागि आफू लागिपरेको उनले बताए ।

प्रतिक्रिया