शनिबार, जेठ ३२, २०८२

नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली

नेपालखोज २०८२ जेठ ३१ गते १५:११

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।

दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्, काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए । उनले भन, नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ । उनले इतिहासका तथ्यहरुले पहिलेदेदिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्व पुर्खाले नै पत्ता लगाएको बताए । अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ, उनले भने ।

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो, उनले भने ।

प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतिलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढ्न दीक्षित विद्यार्थीलाई शुभकामना दिए । नेपालको शैक्षिक स्तर खस्केको भनाईलाई चिर्न अझ तपाईंहरुको योगदान उच्च रहनेछ, हाम्रो देशबाट विदेशमा गएर चिकित्सक र नर्सले उत्कृष्ट भएर काम गरेका छन्, हाम्रो शिक्षा गुणस्तरीय नभएको भए कसरी विकसित देशले हाम्रा उनीहरुलाई काम लगाइराखेका छन् ?उनले प्रश्न गरे ।

नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । विद्याले सबै दिन्छ, तर घमण्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवाभावले काम गर्नुस् । जीवनशैलीलाई शालिनतामा बदल्नुस्, उनले सुझव दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया