शनिबार, जेठ ३२, २०८२

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

नेपालखोज २०८२ जेठ ३१ गते १६:०३

गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि । लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो ।

गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ । समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ ।

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन् । गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास (होमस्टे)का सचिव उमरबहादुर गुरुङले जानकारी दिए । यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा हर्क पिक, माछापुच्छे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ ।

उनका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन् । गाउँमा कुल ११५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ । सिउरुङमा स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ । घले लामिछाने भाइखलकबाट रु ६५ लाखको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिए ।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरेठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिए । यहाँस्थित होमस्टेमा पाहुनालाई जङ्गली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भिरमौरी, टिम्मुरको अचार, सिल्टिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ । स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन् ।

होमस्टे सञ्चालन भएयता दैनिक १०-१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताए । होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ । यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि रु पाँच लाख सहयोग प्राप्त भएको छ, उनले भने ।

होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी छ भने । यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उनले उल्लेख गरे ।

लम्जुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैं हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दूरी पार गर्नुपर्छ । यहाँ पुग्न बाटोको भने समस्या छ । बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको उनले बताए ।

गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ । दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समयमा भने निरन्तरता दिन नसकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया