शनिबार, जेठ ३२, २०८२

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

नेपालखोज २०८२ जेठ ३२ गते ६:४२

वीरगञ्ज (पर्सा) । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुव्र्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

१४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

यहाँका न्यायाधीसद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले विहीबार दिउँसो करिव ४ बजेको समयमा इजलास कक्षमै दुव्र्यवहार गरेका थिए ।

सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीसद्वयमाथि दुव्र्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिए । उनले दुव्र्यवहार गर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने बताए ।

यसअघि १४ वटै न्यायाधीसको लागि एक–एक जना पिएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो । प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए । -रासस

प्रतिक्रिया