सिमकोटमा खानेपानीको समस्या

सिमकोट । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन थालेको हो ।
खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहान सुेकेपछि समस्या चुलिँदै गएको बताए ।
उनका अनुसार दुई हप्तायतादेखि पानी सुक्दै गएपछि समस्या भएको हो । खोलामा थोरैमात्रामा आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको भन्दै छाल्ता खोलाबाट पाइप जडान गरी पानी ल्याउने गरिएको लामाले जानकारी दिए ।
त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा सर्वसाधरणलाई पालोअनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उनको भनाइ छ ।
गाउँपालिकाले दिएको पाल आज पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सउ २६ खानेपानीका ग्राहक छन् । सबै सेवाग्राहीलाई बिहान र बेलुकाको समयमा टोलटोल गरी पालोअनुसार पानी छोड्ने गरिएको उनको भनाइ छ ।
खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायत क्षेत्रका नागरिकले टाढाटाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । स्वच्छ पानी अभाव हुँदा पिउने पानीका साथै सरसफाइमा समस्या हुँदै आएको सर्वसाधरणको गुनासो छ ।
केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या हुन थालेको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि पानीको समस्या हुनु चिन्ताको विषय भएको उनको भनाइ छ । -रासस
प्रतिक्रिया