आइतबार, असार १, २०८२

नेपाल स्रष्टा समाज बागमतीद्वारा झोर महांकाल माविमा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपालखोज २०८२ असार १ गते १०:०३

काठमाडौं । नेपाल स्रष्टा समाज, बागमती प्रदेश तथा तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित श्री झोर महांकाल माध्यमिक विद्यालयमा आयोजित काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व नेपाल स्रष्टा समाज, बागमती प्रदेशका संयोजक श्री रविन्द्र आशिष शैलीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले , ‘साहित्य समाजको ऐना हो ।’ यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, संवेदना र सामाजिक चेतना अभिवृद्धि गर्छ । ग्रामीण विद्यालयसम्म साहित्यिक अभियान पुर्याउनु हाम्रो साझा जिम्मेवारी रहेको बताए । उनले विद्यार्थीहरूलाई कवितामार्फत आफ्ना भावना र दृष्टिकोण व्यक्त गर्न प्रेरित गर्दै साहित्यिक गतिविधिको निरन्तरताको प्रतिबद्धता पनि व्यक्त गरे ।

संयोजक श्री रविन्द्र आशिष शैलीले यस्ता कार्यक्रमले साहित्य र शिक्षा दुवैलाई प्रवद्र्धन गर्ने भन्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका सहप्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको अवस्था र विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे जानकारी गराउदै स्वयंले पनि कविता वाचन गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले सामाजिक सन्देशले भरिएका कविता वाचन गरेर कार्यक्रममा जीवन्तता थपेका थिए । विद्यार्थीहरूले आफूले लेखेका र भावनाले भरिएका कविताहरू प्रस्तुत गर्दा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा, विद्यार्थीहरूलाई शैक्षिक सामग्री (कपी, कलम, पेन्सिल, र अन्य अध्ययन सामग्री) वितरण गरिएको थियो । सामग्री प्राप्त गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कान र उल्लासले उनीहरूमा उत्पन्न भएको आत्मबल स्पष्ट झल्किएको थियो । कार्यक्रममा आफूलाई मनपर्ने कविता सुनाउने मौका पाएकोमा र पठनपाठनमा सहयोग मिल्ने सामग्री समेत पाएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रम फेरि फेरि होस् भन्ने चाहना रहेको बताएका छन् ।

कार्यक्रममा सल्लाहकार श्री पवन आलोक, वडा अध्यक्ष श्री रमेशकुमार लामिछाने, तथा महासचिव देवीका तिमल्सिना सचिव प्रकाश घायल, सदस्यहरू मधु पाठक, शंकर भारती, माधब बिडारी , सुष्मा आचार्य अंशु , एलिसा ढुंगाना लगायत अन्य स्रष्टा तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

नेपाल स्रष्टा समाज, बागमती प्रदेश तथा तदर्थ समितिका सचिव हरिकृष्ण धितालले संचालन गरेको कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा आत्मविश्वास र सृजनात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पारेको सहभागीहरूको मूल्याङ्कन रहेको छ ।

प्रतिक्रिया