आइतबार, असार १, २०८२

एग्रीबस्तु कृषि तारा २०८२ भब्यताका साथ सम्पन्न

नेपालखोज २०८२ असार १ गते १३:३०

काठमाडौं । कपिलवस्तु जिल्लाका कृषकको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन् । लामोसमयदेखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाखसहित सम्मान गरिएको हो ।

‘कृषक देवो भवः’ मूल मन्त्रलाई आत्मसाथ गर्दै दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रिवस्तु कोल्ड स्टोरेज बुद्धभूमी १० चेतरादेइमा भएको भव्य समारोहका बीच केवटसहित अन्य कृषक पनि सम्मानित भए । यसैगरी कृष्ण मोहन केबट दोस्रो हुँदै नगद ७५ हजार पुरस्कार पाउँदा कृष्णलाल भारती तेस्रो हुँदै नगद ५० हजार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट महिला कृषक तर्फ दुर्गा अर्यालले अवार्ड पाउँदा विदेशबाट फर्किएर कृषि कर्म गरीरहेका बलबहादुर राना पनि नगदसहित सम्मानित भए ।

यस्तै, सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, बैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे । सम्मानित सबैले पहिलो पटक कपिलवस्तुमा आयोजना भएको यो कार्यक्रमले आफूहरु उत्साहित भएको बताउँदै प्राप्त नगद पुरस्कार यही पेशाको बृद्धिका लागि खर्च गर्ने बताए ।

मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरु छानिएकोएग्रीवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए ।

मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका थिए् ।

संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढङ्गले मूल्याङ्कन गरिएको बताउँदै यस प्रतियोगिताले किसानलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे ।

कृषि पेशा गरेर केही हुँदैन भन्ने नकारात्मक सोच समाजमा अझै पनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कलाकार जितु नेपाल मुन्द्रेको बेजोड प्रस्तुतीका साथै गणेश बन्दना र थारु नाँचले माहोल रमाईलो बनाएको थियो ।

प्रतिक्रिया