मंगलबार, असार ३, २०८२

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

नेपालखोज २०८२ असार ३ गते ९:००

वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो ।

वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताए ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताए । अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताए ।

महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्कोतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ ।

वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताए ।

महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ । वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताए ।

वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताए । -रासस

प्रतिक्रिया