मंगलबार, असार ३, २०८२

भारतीय पेन्सन क्याम्प

सुनिल उलक २०८२ असार ३ गते १६:२२

भारतमा इष्ट इन्डिया कम्पनीको करिब करिब अन्तिम समय तिर अङ्ग्रेज नेपाल युद्धकै बिचमा गोर्खालीहरूको तर्फबाट कुमाउँ गढवालका पहाडीहरू पनि अङ्ग्रेज विरुद्ध लडाइ लडेका थिए । तर बिचैमा यी पहाडीहरू बागी भएर अङ्ग्रेजहरूसँग मिल्न गए । यी पहाडीहरूको बटालियन बनाइयो, जसको नाम नसीरी बटालियन राखियो ।

वास्तवमा नसीरी बटालियन गोर्खालीहरूको पहिलो बटालियन भनिए पनि गोर्खाली सैनिकका रूपमा भर्ती भएका कुमाउँ गढवालका पहाडीहरू थिए । यसरी बनेको बटालियनलाई पछि दुई भागमा विभाजन गरेर पहिलो नसीरी बटालियन र दोस्रो नसीरी बटालियन राखियो । पछि अङ्ग्रेजसँगको युद्धमा गोर्खालीको हार भए पछि युद्ध वन्दीका रूपमा रहेका गोर्खालीहरूलाई पनि नसीरी बटालियनमा नै राखियो ।

साथै युद्धमा हार पछि करिब १६०० सैनिकहरूलाई अङ्ग्रेज सेनामा भर्ती हुन छुट समेत दिइयो । जो सबै नसीरी बटालियनमा नै राखियो । तर पछि यसलाई सिरपुर बटालियन भन्ने गरियो । यो नै गोर्खालीहरूको पहिलो रेजिमेन्ट थियो । सुरुमा गोर्खालीलाई हराएको मलाउको नामबाट गोर्खालीहरू भएको रेजिमेन्टको नाम मलाउ रेजिमेन्ट नाम दिइएको थियो । तर पछि नसीरी रेजिमेन्ट नाम दिइएको थियो । पछि राजा जर्ज पाँचौँको नामबाट फस्ट किङ्ग जर्ज पाँचौँको निजी गोर्खा राइफल (King George V’s Own Rifle) तथा छोटकरीमा फस्ट गोर्खा राइफल भन्ने गरियो ।

हुन त सिख खालसा सेनामा गोर्खालीहरू पहिले नै भर्ती भएको देखिन्छ । सिख खालसा सेनामा भर्ती भएका मामाहरु भूपाल थापा र अर्जुन थापालाई पछ्याउँदै अङ्ग्रेजसँगको युद्धमा हार खानु परेपछि बलभद्र कुँवर पनि सिख रेजिमेन्टमा भर्ती हुन लाहोर पुगेका थिए । यहीँ लाहोर जाने परम्परालाई पछि लाहुर जाने तथा त्यहाँ गएकाहरूलाई लाहुरे भन्न थालियो ।

यसरी सुरु भएको गोर्खाली सैनिकहरूको जागिरका सिलसिलामा तलब त पाउँथे नै अन्य सुविधाहरू पनि पाउँथे । अवकाश पछि पेन्सनको व्यवस्था तथा अचानक युद्धमा मृत्यु भएमा पनि विभिन्न रकम तथा सुविधाहरू दिने गरिन्थ्यो । यसलाई पेन्सनका रूपमा वार्षिक रूपमा बाँड्न थालियो । वर्षको एक पटक सबै पूर्व सैनिकहरू तथा मृत्यु भइसकेको हकमा उनका विधवाहरूले पाउने रकम लिन गोरखपुर जानु पर्दथ्यो । बिस्तारै यो सुविधा काठमाडौंमा पनि थपियो ।

भारत स्वतन्त्र भए पछि गोर्खाली सैनिकहरू दुई तर्फ बाँडियो । एक थरी स्वतन्त्र भारतमा नै रहे । अर्का थरी बेलायती सरकार अन्तर्गत रहे । यसर्थ पेन्सन पनि दुई देशको अलग अलग बन्यो । स्वतन्त्र भारत सरकारले नेपालमा पेन्सनको व्यवस्थाका लागि २००८ सालमा थालनी भयो भने बेलायत सरकारले २०१८ सालबाट पोखरामा ब्रिटिस पेन्सन क्याम्प खोल्यो ।

सुरुमा काठमाडौं र गोरखपुरमा बाँड्न थालिएको पेन्सन २०१३ सालपछि पोखरामा अमरसिंह चोकको खुला चौरमा भारतीय सैनिक अफिसरहरूको रोहवरमा पेन्सन बाँडिन्थ्यो । पछि नेपाल सरकारले विमानस्थलबाट सेती पारीको बानियाँ गाउँमा जग्गा उपलब्ध गरिदिए पछि त्यहीँबाट व्यवस्थित रूपले पेन्सन बाँड्न थालियो । बिस्तारै त्यो ठाउँको नाम बानिया गाउँबाट पेन्सन क्याम्प रहन गयो । अचेल भने राम बजार भन्ने गरिन्छ ।

यहाँ तस्बिरमा यही पेन्सन क्याम्पको छाप्रो भित्र पेन्सन बाँड्दै गरेको देख्न सकिन्छ । साथै गाउँ ठाउँबाट पेन्सन लिन आएका बुबाआमाहरु चौर भरि देख्न सकिन्छ । सुरुवाती चरणमा भारतीय पेन्सन क्याम्प भित्रबाट पेन्सन बाँड्दै गरेको तथा पेन्सन अफिसको पहिलो तस्बिर भारतीय पेन्सन क्याम्पसँग नै रहेनछ । मैले यो तस्बिर पेन्सन क्याम्पलाई उपलब्ध गराइदिए पछि विगतको इतिहास बार नयाँले पनि बुझ्न पाए ।

प्रतिक्रिया