मंगलबार, असार ३, २०८२

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

नेपालखोज २०८२ असार ३ गते २१:०५

लिस्बन (पोर्चुगल) । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ ।

राहदानी विभाग काठमाडौं र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका र हराएका गरी कूल दुई सय ५२ जनाको जैविक विवरणसहितको आवेदन सङ्कलन गरिएको म्याड्रिडस्थित नेपाली दूतावासका सहचारी विपीन चन्दले राससलाई जानकारी दिए ।

नयाँ राहदानी बनाउनका लागि आवेदन दिनेमा राहदानी क्षति भएका र नष्ट भएकाको सङ्ख्या धेरै रहेको उनले बताए । शिविरबाट करिब ३५ हजार यूरो अर्थात् झण्डै रु ५५ लाख राजस्व सङ्कलन भएको चन्दले बताए ।

आलिकान्ते क्षेत्रमा बसोबास गर्ने नेपालीको सहजताका लागि राहदानी विभागसँगको समन्वयमा घुम्ती शिविर सञ्चालन गरेर राहदानी सेवा प्रदान गरिएको दूतावासले जनाएको छ । घुम्ती सेवालाई नेपाल समाज एसोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्का लगायतका नेपाली सङ्घ संस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

घुम्ती शिविरमार्फत बेनिड्रोमै सेवा पाउँदा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीहरूले राहत मिलेको भन्दै खुसी व्यक्त गरेको शिविर संयोजक असिम लोप्चनले बताए । शिविरमा काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, मुर्सिया, टोरटोसालगायतका क्षेत्रमा बस्ने नेपालीले सेवा लिएको उनले बताए ।

राहदानीसम्बन्धी समस्या परेका आलिकान्ते क्षेत्रका नेपालीको सहजताका लागि दूतावासलाई आग्रह गरेर घुम्ती शिविर सञ्चालन गरिएको संयोजक लोप्चनले बताए । शिविरमा दूतावासका द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपीन चन्द, राहदानी विभागका नायब सुब्बा ज्योत्सना काफ्ले, दूतावासका कर्मचारी लक्ष्मण शर्मा खटिएका थिए ।

एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, नेपाल समाज एसोसिएसनका अध्यक्ष केसरबहादुर थापालगायतले शिविरको समन्वय र सहजीकरण गरेका थिए । -रासस

प्रतिक्रिया