जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२’ वितरण समारोहमा उनले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको उल्लेख गरेक हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति तर्फको सम्मान शान्ता मानवी, इतिहासतर्फका सम्मान डा मेदिनीप्रसाद सेडाईं र साहित्यतर्फ राममणि पोखरेललाई सम्मान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कारको राशि १ लाख रहेको छ ।
राष्ट्रपति पौडेलले भने, ‘सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत, साधनहरूको समुचित उपयोगबाट लोकतन्त्र र संविधानले राखेको लक्ष्य पूरा हुनेछ । यो लक्ष्य पूरा गरे मात्र लोकतन्त्रका लागि आफूलाई समर्पण गरेका नेताहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’
राष्ट्रपति पौडेलले पुष्पलालले नेपाली समाजको आर्थिक ढाँचा, वर्ग विश्लेषण, उत्पादन प्रणाली र समाजका अन्तरविरोधहरूलाई सुक्ष्म ढङ्गले अभिलेखन गर्न पनि योगदान गरेको उल्लेख गरे ।
प्रतिक्रिया