बुधबार, असार ४, २०८२

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

नेपालखोज २०८२ असार ४ गते १७:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् ।

एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए । एमालेउपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताएका छन् । कतै पनि सग्लो पार्टी भेटिदैन । धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिदैन उनले भने, तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिए । विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ, उनले भने, केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ । उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिए ।

विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं, उनले भने, विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन । उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए ।

उनले पार्टी निर्माणमा जनसङ्गठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । २०४६/४७ को जनआन्दोलन र २०६२/६३ दोस्रो जनआन्दोलनमा जनसङ्गठन धेरै सशक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसङ्गठन सुस्ताएको बताए ।

प्रतिक्रिया