बिहीबार, असार ५, २०८२

५५ वर्ष अगाडि नारायण गोपालले लेखेकाे त्यो पत्र

नेपालखोज २०८२ असार ५ गते ११:३०

वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मनु भएका नारायण गोपाल नेपालको सर्वाधिक चर्चित गायकमा पर्नुहुन्छ । बुबा आशागोपाल र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमा वहाँ दोस्रो हुनुहुन्थ्यो । २०१६ सालमा एसएलसी पास गर्नुभएका नारायण गोपालको परिवार खानदानी तथा उच्च जातका हुँदा बुबा अलि कडाइ गर्नुहुन्थ्यो । बुबा शास्त्रीय सङ्गीत प्रेमी भएको हुँदा छोराले पनि शास्त्रीय सङ्गीतमा रुचि रहोस् भन्ने चाहना गर्नुहुन्थ्यो । बुबाकै लहडमा शास्त्रीय सङ्गीत अध्ययन गर्न बडोदा जानुभयो । बडोदामा सङ्गीतमा गहिरिनु भन्दा चुरोटको लतले सङ्गीतमा रुचि घट्न थालेको थियो ।

उता दार्जिलिङ सुकियापाेखरीकी पेमाला नारायण गोपालको अति नै प्रशंसक थिइन् । दुई बिच पत्राचार पनि भइसकेको थियो । नारायण गोपालले पेमाला केवल प्रशंसक मात्रै नरहेर आफूलाई प्रेम गर्न थालिसकेको पनि चाल पाइसकेका थिए । यसैले उनीसँग भेट्ने चाहना भित्रभित्र जागिसकेको थियो । यही बहानामा २०२१ सालमा नारायण गोपाल बडाेदाबाट छुट्टीको मौका मिलाएर दार्जिलिङ आउनुभयो । दार्जिलिङमा नगेन्द्र थापाकोमा पुग्नुभयो । नगेन्द्र थापाले नै पेमालासंग भेट गराइदिएका थिए । सुरुमा त पेमालाले नगेन्द्र थापालाई नै नारायण गोपाल ठानेका थिए । यो आभास पाएका नगेन्द्र थापाले नारायण गोपाललाई चिनाइदिए । यही समय गोपाल योञ्जन पनि नजिक भए । २०२१ को चैतमा दार्जिलिङको महाकाल डाँडामा ईश्वर वल्लभ, नगेन्द्र थापा, गम्भीर योञ्जन साक्षी रहेर मकलको आगोमा हात राख्दै गोपाल योञ्जनसंग मित लाउनु भएको थियो ।

मित लगाए पछि वहाँहरूले मितज्यू नाइटको कार्यक्रम काठमाडौँदेखि दार्जिलिङसम्म भव्य रूपमा सम्पन्न गर्नुभयो । आफ्ना प्रशंसक रहेकी पेमाला लामासङ २०२७ साल फागुनमा दार्जिलिङमा बिहे गर्नुभयो । बिहे पछि लामा बुहारीलाई लिएर बाबुआमा सामु जान हच्कनु भयो । जातपातमा कट्टर बुबा सामु जान आँट नआए पछि साथीहरूसँग कहाँ गएर बस्ने भन्नेमा छलफल भयो । भूपी शेरचनको सेतो दरबारमा कोठाहरू खाली थिए । त्यसैले उनैको अनुरोधमा वहाँ कै घरमा बस्ने गरी पोखरा पुग्नुभयो । पेमालाका लागि स्थानीय कन्या स्कुलमा पढाउने जागिरको तय पहिल्यै गरिसकेको थियो । यसर्थ पोखरा पुग्नासाथ पेमालाले स्थानीय कन्या स्कुलमा होम साइन्स विषय पढाउन थाल्नुभयो । नारायण गोपाल भने केही दिन बेरोजगार नै रहनुभयो । पछि अमरसिंह स्कुलमा सङ्गीतको कक्षा थालनी गरेर सङ्गीतको शिक्षकका रूपमा जागिरे हुनुभयो । पोखरामा नारायण गोपाल तथा पेमालाको दिन कठिनसँग बित्न थालेको थियो ।

पोखरा बसाइ क्रममा नै नारायण गोपालले बुबा आमालाई पत्र लेख्नुभयो । आमाबुबाको यादले सताएको तथा क्षमा माग्नुभएको थियो । ७-८ महिनाको बसाई पछि पोखरामा बस्न कठिन भएपछि काठमाडाै लाग्नुभयो । साथीहरूको सहयोगमा नारायण गोपालले नाचघरमा जागिर पाए भने पेमालाले भारतीय एउटा जीवन बिमा कम्पनीमा जागिर पाइन् ।

विवाह पछि पेमाला गर्भवती भएकी थिइन् तर गर्भको बच्चा दानी भन्दा बाहिर रहेको हुँदा डाक्टरले अप्रेसन गरेर बच्चा फेक्ने सल्लाह दिनुभयो । नारायण गोपालले पनि गर्भको बच्चा भन्दा पेमाला प्यारो भएको हुँदा बच्चा फेक्न मन्जुरी दिनुभयो । त्यस अप्रेसन पछि पेमाला गर्भवती हुन सक्नुभएन । यसरी वहाँहरू निसन्तान हुनुभयो ।

जीवनको उतारचढाव पछि २०४७ मङ्सिर १९ गते वीर अस्पतालमा नारायण गोपालको स्वर्गारोहण भयो भने २०६१ सालमा पेमालाको पनि स्वर्गारोहण भयो ।

प्रतिक्रिया