बिहीबार, असार ५, २०८२

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

नेपालखोज २०८२ असार ५ गते २१:०१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुलुकको संस्कृति र सम्पदाको सही सदुपयोग गर्न सके देश समृद्ध हुने बताएका छन् ।

सांस्कृतिक संस्थानको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देश समृद्धिको बाटोमा अघि बढिरहेको र त्यसका लागि सम्पदाको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले भूकम्पपछि फेरि उही अवस्थामा देश आएको र कोभिड–१९ का कारणले अर्थतन्त्र कमजोर भए पनि अहिले विस्तारै चलायमान हुँदै गएको बताए ।

राजनीतिक द्वन्द्वबाट मुलुक शान्तिमा रुपान्तरण भएको तथा नेपालले कुनै भोकमरी नभोगेको उल्लेख गर्दै उनले अब देश अगाडि बढ्न कसैले नरोक्ने बताए ।

सांस्कृतिक संस्थानले पछिल्लो समयमा उत्कृष्ट काम गरिरहेको र मन्त्रालयले आवश्यक साथ दिने उनले प्रतिबद्धता जनाए । सो क्रममा मन्त्री पाण्डेले यहाँ निर्मित सेमिनार भवनको समेत उद्घाटन गरे । उनले सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घसाधना सम्मानबाट नेपालको पहिलो नृत्य निर्देशक भैरबहादुर थापालाई सम्मान प्रदान गए ।

साे क्रममा संस्थानले नाट्यतर्फ लोकनाथ ढकाल, नृत्यतर्फ मिथिला शर्मा, बादनतर्फ पञ्चनारायण महर्जन, गायनतर्फ चन्द्रकला शाह र कर्मचारी नर्सिङलाल श्रेष्ठलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा गीति नाटक मुनामदनसहित विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । -रासस

प्रतिक्रिया