शुक्रबार, असार ६, २०८२

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

नेपालखोज २०८२ असार ६ गते ७:१०

कञ्चनपुर । गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेकी हुन्छिन् ।

हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने कार्य गरे । बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाए । गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ । दिउँसपख खाना खानका लागि दुई घण्टाको विश्राम मात्र गिरी दम्पतीले लिने गरेका छन् । एक दशकदेखि नदीको बालुवा र गिट्टी चाल्दै बेच्दै गर्ने कार्यले गिरी परिवारको जीविका चल्दै आएको छ ।

उनले भने, नदी नै एकमात्र बाँच्ने आधार हो, यसबाटै जीविका चलेको छ, पहिले भारत जान्थेँ, थोरै तलबले परिवारको गुजारा चलाउन मुस्किल हुन्थ्यो, बालुवा चाल्न थालेपछि भारत जान छाडे, अहिले थोरै कमाउँछु, तर परिवारसँगको सुखदुःखमा साथमा छु । चारपाँच दिनमा एक ट्रली बालुवा त्यही परिणामा गिट्टी सङ्कलन हदा दुई हजारदेखि तीन हजारसम्म कमाइ हुने गरेको उनी बताए । महिनामा १२ देखि रु १५ हजारसम्मको कमाइ हुने गरेको छ ।

गिरी दम्पतीसँग गाउँमा घरबाससँगै थोरै कमाइखाने जग्गा पनि छ । त्यो जग्गामा लगाएको अन्नले छ महिना पनि धान्दैन । बालुवा, गिट्टी बेचेर आएको कमाइले घरको नुनतेल, लत्ताकपडा र अन्नको जोहो मिलाए । भीमजस्तै खल्लागोठ गाउँका कृष्ण नाथ पनि दुई दशकदेखि नदीमा बालुवा, गिट्टी चाल्दै आएका छन् । बिहान बालुवा चाल्दै सुरु हुने दैनिकी बेलुका थकाइसँगै बन्द हुने गरेको उनले बताए ।

आठ जनाको परिवारको खर्च बालुवा, गिट्टी बेचेरै चल्दै आएको छ । बालबालिका छाडेर घरका अरु सबै जना बालुवा, गिट्टी चाल्ने कार्य गर्छौँ, महिनामा रु २०–२५ हजार जति कमाइ हुन्छ, त्यही रकमबाट घरायसी खर्च धान्ने गर्दर्छौँ, उनले भने ।

नदीमा ठेक्का छिटो खुलेपछि धेरै दिनसम्म बालुवा, गिट्टी चाल्न पाइने गरेको उल्लेख गर्दै उनले ढिलो गरी ठेक्का खुले बालुवा, गिट्टी चाल्ने कार्य नहुँदा मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए ।

नदीमा असोजदेखि जेठ मसान्तसम्म खल्लागोठका बासिन्दाले बालुवा, गिट्टी चालेर बिक्री गर्दै आएका छन् । असारदेखि भदौसम्मको बर्खायाममा नदीजन्य पदार्थ सङ्कलन उत्खनन गर्न नपाइने भएकाले काम खोज्दै हिँड्नुपर्ने अवस्था रहेको न्यौटी नाथले बताए । खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ ।

गाउँका अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गरे । गाउँका बासिन्दासँग थोरैमात्र जग्गा छ । त्यो पनि उब्जाउ नहुँदा बाध्यताले नदीमा बालुवा चाल्नुपरेको उनले बताए । जुन बालुवाले जीवन दियो, त्यसैले कहिलेकाहीँ ज्यानको जोखिम पनि ल्याएर आउने धनबहादुर विक बताए ।

असारदेखि नै पानी दर्किन सुरू भएपछि नदीको बाढी गाउँभित्र पस्ने भएकाले तीन महिना अवधि त्रासमा बाँच्नुपर्ने हुन्छ, उनले भने, नदीजन्य पदार्थ उत्खननको प्रत्येक वर्ष ठेक्का लाग्ने भएकाले त्यसको केही हिस्सा नदी नियन्त्रणका लागि बलियो तटबन्ध बनाउनमा खर्च गर्नुपर्ने हो, त्यसका लागि आवाज उठाउँदै आए पनि सुनवाइ हुँदैन ।

प्रतिक्रिया