शुक्रबार, असार ६, २०८२

प्याजले उचित मूल्य पाएन

नेपालखोज २०८२ असार ६ गते १०:०३

चितवन । जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमलाले १६ कट्ठामा लगाउनुभएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य भएका छन् ।

उनले भने, मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन । बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उनले बताए । व्यवसायीले प्रतिकिलो रु २५ भन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताए । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए ।

भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो २० देखि ३० मा बेच्न बाध्य भएको बताए । उनले भने, भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।

प्रतिक्रिया