शनिबार, असार ७, २०८२

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

नेपालखोज २०८२ असार ७ गते ९:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन् ।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदैछ ।

योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवं जीवनपद्धतिका रूपमा पनि लिइन्छ ।

उनले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवं स्थिरतातर्फ डोर्‍याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्‍याउने बताए ।

प्रतिक्रिया