‘जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्छ’

मलेखु (धादिङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन् ।
एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।’ जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
संविधानको सर्वोच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भन्दै यसमा पार्टीका नेता तथा कार्यकर्ताको योगदान र सहयोगको खाँचो औँल्याए ।
एमाले जिल्ला कमिटीका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले पार्टीको सङ्गठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरे ।
प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिङ्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत नेताले पार्टीको आगामी योजना र निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
परिषद्को नवौँ जिल्ला अधिवेशनले पार्टीको नीति र कार्यक्रमलाई अझ जनमुखी र प्रभावकारी बनाउने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले साङ्गठनिक सुदृढीकरण र वैचारिक स्पष्टतालाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताउनुभयो । प्रतिनिधि परिषद्मा एमालेका पुराना नेताहरूलाई सम्मान गरिएको थियो । -रासस
प्रतिक्रिया