‘खण्डखण्डमा जिन्दगी’ मार्फत पोखरेलको आत्मकथा सार्वजनिक

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव पद्मप्रसाद पोखरेलको आत्मकथा ‘खण्डखण्डमा जिन्दगी’ जिज्ञासा र अनुभवको इतिवृत्त’ को लोकार्पण गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा एक विशेष समारोहबीच देशका प्रतिष्ठित साहित्यकार, पत्रकार, प्राज्ञ तथा प्रशासक लगायतको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रममा पूर्वराष्ट्रपति यादवले आत्मकथाको लोकार्पण गदै पद्मप्रसाद पोखरेलजस्तो इमानदार र विवेकशील प्रशासकको जीवन कथा पुस्ता–पुस्ताका लागि प्रेरणा बन्न सक्ने बताए । आत्मकथा केवल व्यक्तिगत वृत्तान्त मात्र नभई त्यो समयको सामाजिक, प्रशासनिक र बौद्धिक दस्तावेज रहेकाले लेखकलाई शुभकामना दिदै यस्ता कृतिहरूले समाजलाई अझ गहिरो समझदारी दिन सक्ने विश्वास समेत व्यक्त गरे ।
लेखक पद्मप्रसाद पोखरेलले सबै अतिथिहरूप्रति आभार प्रकट गदै पुस्तक आफ्नो भोगाइ र अनुभूतिहरूको प्रतिबिम्ब भएको तर आफ्नो जीवनलाई कुनै विशेषताको दाबी गर्दै लेखेको नभएर लेखनले आफ्नो जीवन पुनरावलोकन गर्ने अवसर मिलेको बताए । उनले कृतिले कसैलाई केही सोच्न प्रेरित गर्छ भने लेखन सफल भएको ठहर्ने विश्वास व्यक्त गरे ।
वरिष्ठ पत्रकार किशोर नेपालले पोखरेलको जीवनलाई ‘बोल्न नसकेका हजारौँ प्रशासनिक आवाजको प्रतिनिधि’ भन्दै आत्मकथाको ऐतिहासिक महत्वमाथि जोड दिए । कवि तथा मुख्यसचिव डा. विमल कोइरालाले पोखरेलसँगको ४० वर्ष लामो प्रशासनिक सहकार्य र मित्रताको स्मरण गदै पोखरेल जीवनभर अनुशासन, इमान, सरलता र पारदर्शिताको पर्याय बनेकाले पोखरेलको आत्मकथाले यिनै मूल्यलाई प्रतिबिम्बित गर्ने बताए ।
प्रकाशक संस्था ‘भुँडीपुराण प्रकाशन’का अगुवा केशव पराजुलीले प्रकाशन प्रक्रियाका अनुभव सुनाउदै कृति प्रकाशन गर्नु प्रकाशन संस्थाका लागि मात्र नभएर समस्त पाठकसमुदायको लागि गर्वको विषय बन्न सक्ने धारणा राखेका छन् ।
समारोहमा पत्रकार तथा समालोचक डा. बालचन्द्र मिश्रले कृति तयार पार्ने क्रममा लेखकसँगका संवाद र अनुभवहरू सुनाउदैँ आत्मकथा केवल कथा नभएर एक यथार्थपुस्तक रहेकाले जहाँ सरकारी सेवाशैली, प्रशासनिक संघर्ष र व्यक्तिगत अन्तद्र्वन्द्वहरू कुशल रूपमा प्रस्तुत गरिएको बताए ।
प्रा.डा.शान्तिकृष्ण अधिकारीले पुस्तकमाथि समीक्षात्मक दृष्टिकोण राख्दै यसलाई ‘एक गम्भीर पाठकको लागि गहकिलो पाठ’ भएको बताए । उनले पोखरेलको भाषाशैली, आत्मविश्लेषण र घटनासँगको वस्तुगत प्रस्तुति स्पष्ट पारेका थिए । कवि तथा पत्रकार मणि लोहनीले संचालन गरेको सो कार्यक्रममा लेखककी जेठी छोरी प्रमीला खनालले बाबुको संघर्षपूर्ण जीवन र लेखन यात्राबारे स्मरण गरेका थिए ।
पुस्तक भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित गरिएको हो । प्रकाशनका अनुसार एक हजार एक सय मुल्य रहेको ‘खण्डखण्डमा जिन्दगी’ देशभरका पुस्तक पसलहरूमा उपलब्ध छ ।
प्रतिक्रिया