सोमबार, असार ९, २०८२

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

नेपालखोज २०८२ असार ९ गते १२:४९

काठमाडाैं । इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ ।

‘यहूदी शासन (इजरायल)का लागि गुप्तचरको रूपमा सहयोग गरेको आरोपमा आज बिहान इरानी नागरिक मोहम्मद-अमिन महदावी शायेस्तेहलाई फाँसी दिइएको छ,’ इरानको एक न्यायलयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शायेस्तेहमाथि इजरायलको विदेशी गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।

उनीलाई इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टिभी च्यानल इरान इन्टरनेसनलसँग सहकार्य गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

इरानले उक्त प्रसारणकर्तालाई इजरायलसँग जोडिएको मानेको छ ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनका क्रममा इरानका अधिकारीहरूले उक्त च्यानललाई ‘आतङ्कवादी सङ्गठन’ को रूपमा वर्णन गरेका थिए ।

इरानी कुर्दिश युवती अमिनीलाई इस्लामिक गणतन्त्रको कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

इरानले विशेषगरी उसको कट्टर शत्रु इजरायलसँग काम गर्ने विदेशी गुप्तचर निकायसँग संलग्न रहेको देखिएका वा आरोप लागेका व्यक्तिलाई पक्राउ गरी राष्ट्रघात गरेको आरोपमा वर्षौँ जेल र मृत्युदण्डसमेत दिने घोषणा गर्ने गरेको छ ।

आइतबार अधिकारीहरूले यस्ता कारबाहीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका थिए । सोही दिन, न्यायपालिकाले मोसादको एजेन्ट भएको आरोपमा दोषी ठहरिएका माजिद मोसायेबीलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।

एम्नेस्टी इन्टरनेसनललगायतका मानवअधिकारवादी समूहका अनुसार इरानमा विश्वकै अत्यधिक धेरै सङ्ख्यामा मृत्युदण्ड दिइने गरिएको छ ।

प्रतिक्रिया