उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

काठमाडाैं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताएका छन् ।
उनले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताएका थिए ।
उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रतिक्रिया