मंगलबार, असार १०, २०८२

हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने

नेपालखोज २०८२ असार १० गते ७:०९

कञ्चनपुर । जिल्लामा हाइड्रोसिल भएका बिरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । विभिन्न स्थानमा हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरी हाइड्रोसिलको समस्या देखा परेका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाइएको हो ।

शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा सोमबार महाकाली प्रादेशिक अस्पतालले आयोजना गरेको हात्तीपाइलेसम्बन्धी स्क्रिनिङ शिविरमा २३ जनामा हाइड्रोसिलको समस्या देखा परेको छ ।

अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्र रावलका अनुसार हाइड्रोसिलको समस्या देखा परेका २३ मध्ये १० जनामा जटिल प्रकृतिको समस्या देखा परेका छन् भने १३ जनामा सामान्य किसिमको हाइड्रोसिल देखिएको उनले बताए ।

हाइड्रोसिल अण्डकोशको वरिपरि सुजन वा तरल पदार्थ जमेको अवस्थालाई भन्ने गरिएको महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले जानकारी दिए । उनका अनुसार हाइड्रोसिल शिशुमा जन्मअघि गर्भमा रहेकाबेला अण्डकोष पेटभित्रबाट तल झर्दा त्यसको वरिपरि पानी आउने नली खुला रहेको अवस्थामा हुन्छ ।

हाइड्रोसिलको समयमा उपचार नभएमा हात्तीपाइले हुनसक्ने भएकाले समयमा रोगको पहिचान र निदान गरिनुपर्ने डा भट्टले सुझाव दिए । हात्तीपाइले रोगको सङ्क्रमणका हाइड्रोसिल हुनसक्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ । लामखुट्टेले सार्ने फाइलेरिया परजीविको सङ्क्रमणबाट अधिकांशमा हाइड्रोसिलको समस्या देखा परेको स्क्रिनिङ शिविरमा सहभागी चिकित्सकले बताएका छन् ।

तीन दशकदेखि हाइड्रोसिलको समस्या झेल्दै आएका शुक्लाफाँटा नगरपालिका–३ का धनिराम चौधरीले चिकित्सकले शल्यक्रिया गरेपछि सञ्चो हुने अश्वासन पाएपछि खुसी लागेको प्रतिक्रिया दिए । यसअघि अस्पतालले बेलडाँडी गाउँपालिमा आयोजना गरेको स्क्रिनिङ शिविरमा जाँचका लागि पुगेका बिरामीमध्ये १० जनामा हाइड्रोसिलको समस्या देखिएको जनाएको थियो ।

अस्पतालमा जाँच गराएका बिरामीमा हाइड्रोसिलको समस्या देखापरे निःशुल्क उपचार र शल्यक्रिया हुने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले बताए । कतिपयलाई अस्पतालमा हाइड्रोसिलको उपचार र शल्यक्रिया निःशुल्क हुनेबारे थाहा नहुने भएकाले शिविरमार्फत जानकारी पनि दिने गरिएको उनले उल्लेख गरे । -रासस

प्रतिक्रिया