मंगलबार, असार १०, २०८२

कोशी प्रदेशमा बैंकहरुले घटाए कृषि कर्जा

राष्ट्र बैंकको रिर्पोट

नेपालखोज २०८२ असार १० गते १६:३७

,काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जा घटाएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०८१/८२ आर्थिक गतिविधि अध्ययन सम्बन्धी अर्धवार्षिक प्रतिवेदन कर्जा घटेको देखिएको हो ।

प्रतिवेदन अनुसार २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव शून्य दुई प्रतिशतले घटेर ५६ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ८५ अर्ब बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश नौ दशमलव सात प्रतिशत रहेको छ ।

२०८१ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० दशमलव आठ प्रतिशत रहेको थियो । प्रतिवेदन अनुसार २०८१ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरुमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव छ प्रतिशत रहेको छ ।

यसैगरी, २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न शीर्षकहरुमा जिल्लागत रुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी १९ अर्ब ४२ करोड (३४ दशमलव एक प्रतिशत) र सोलुखुम्बु जिल्लामा सबैभन्दा कम ३५ करोड ३९ लाख (शुन्य दशमलव छ प्रतिशत) रहेको छ । २०८० पुस मसान्तको तुलनामा समीक्षा अवधिमा कृषि क्षेत्रमा प्रवाहित कर्जा शुन्य दशमलव नौं प्रतिशतले घटेको छ भने सो अवधिमा जिल्लागत रुपमा सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी २५ दशमलव आठ प्रतिशतले कृषि कर्जामा वृद्धि भएको छ । साथै, ताप्लेजुङ जिल्लामा सबैभन्दा बढी १५ दशमलव दुई प्रतिशतले कृषि कर्जा घटेको छ ।

प्रतिवेदन अनुसार क्षेत्रगत औद्योगिक कर्जा अन्र्तगत २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा प्रवाहित कुल औद्योगिक कर्जा पाँच दशमलव छ प्रतिशतले बढेर एक खर्ब ४७ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा एक खर्ब ३९ अर्ब ६६ करोड रहेको थियो ।

२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा विद्युत, ग्यास तथा पानी सम्बन्धी उत्पादन गर्ने उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी १४ दशमलव चार प्रतिशतले वृद्धि भएको हुँदा समग्र औद्योगिक कर्जा बढेको देखिन्छ भने खानी सम्बन्धी क्षेत्रमा प्रवाह भएको कर्जा सबैभन्दा बढी १६ दशमलव एक प्रतिशतले घटेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा ठुलो अंश गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको ५३ दशमलव चार प्रतिशत र सबैभन्दा कम अंश खानी सम्बन्धी उद्योगको शुन्य दशमलव चार प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार २०८१ पुस मसान्तसम्म कोशी प्रदेशमा वाणिज्य बैंकका सात सय ६२, विकास बैंकका एक सय ९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५३ गरी जम्मा एक हजार आठ सय ४५ वटा शाखाहरू रहेका छन । यस मध्ये मोरङ जिल्लामा सबैभन्दा बढी चार सय ५० शाखा र ताप्लेजुङ जिल्लामा सबैभन्दा कम ३९ शाखा रहेका छन । त्यसैगरी, झापामा तीन सय ५०, सुनसरीमा तीन सय ३५, उदयपुरमा एक सय १५, इलाममा ९७, धनकुटामा ८४, पाँचथरमा ६८, संखुवासभामा ६०, भोजपुरमा ५५, ओखलढुङ्गामा ५४, तेह्रभुममा ४९, खोटाङमा ४८ र सोलुखुम्बुमा ४२ वटा शाखा रहेका छन ।

२०८१ असार मसान्तसम्म कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल एक हजार आठ सय ३७ शाखाहरू रहेका थिए ।
प्रतिवेदन २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन तीन दशमलव छ प्रतिशतले बढेर चार खर्ब ९२ अर्ब पुगेको छ ।

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपमा १२ दशमलव तीन प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय रेमिटयान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिन्छ । २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा १० दशमलव दुई प्रतिशतले कमी भई पाँच खर्ब ८६ अर्ब पुगेको छ ।

२०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कुल कर्जा प्रवाहमा एक दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । २०८१ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा नौं दशमलव सात प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २५ दशमलव दुई प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५ दशमलव एक प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात -एक सय १९ प्रतिशत रहेको छ । अघिल्लो आ. व. को पुस मसान्तमा उक्त अनुपात एक सय २१ दशमलव दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया