उदीयमान सहरको विकास, व्यवस्थापन र सेवा प्रवाहमा मन्त्रालय लागेको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकासका लागि आधारभूत पूर्वाधार तथा सेवा विस्तारसहितको व्यवस्थापन नै मन्त्रालयको प्रमुख काम भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलको क्रममा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उनले सहरहरुलाई सुरक्षित, स्वच्छ र दिगोपन दिन बस्ती विकास नीति, फोहोरमैला व्यवस्थापन विधेयक, सहरी विकास विधेयक, बागमती सभ्यता विधेयक तर्जुमालगायतका काम गरिएको बताए ।
उनले भने, मैले यस मन्त्रालयको नेतृत्व लिएपछि नीतिगत सुधारका कार्यहरुमा निरन्तर ध्यान दिँदै आएको छु, यस सन्दर्भमा मन्त्रालय स्थापना भएको लामो समयसम्म पनि सहरी विकास नीति नभएको अवस्थामा मेरो नेतृत्वमा सहरी विकास नीति, २०८१ गत मङ्सिरमा स्वीकृत भई कार्यान्वयनमा छ ।
मन्त्री सिंहले आवास, भवन निर्माण, सहरी विकास र स्थानीय पूर्वाधारसम्बन्धी कार्यक्षेत्र रहेको मन्त्रालयले आगामी आव २०८२/८३ मा सङ्घबाट कार्यान्वयन हुने कार्यक्रममा ९१ अर्ब ३४ करोड १७ लाख, प्रदेशबाट कार्यान्वयन हुने कार्यक्रमा नौ अर्ब ८९ करोड ६२ लाख, स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमका लागि १५ अर्ब ९१ करोड र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब १९ करोड ६५ लाख वजेट विनियोजन गरिएको पनि बताए ।
सहर सुविधा र अवसरको केन्द्र हो, सभ्यताको विकास र संस्थागत गर्न सहरले महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ, बढ्दो जनसङ्ख्या र मानवीय सेवासुविधाको मागसँगै व्यवस्थित सहरीकरणको आवश्यकता बढ्दै जान्छ, उनले भने ।
योजनाबद्ध विकासको सुरुआतदेखि नै बस्ती घनत्व बढ्ने क्रम सुरु भए पनि लामो अवधिसम्म सहरी विकासलाई नेतृत्व गर्ने छुटै संस्थागत संरचना नभएको उनको भनाइ थियो ।
प्रतिक्रिया