मंगलबार, असार १०, २०८२

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

नेपालखोज २०८२ असार १० गते १९:५८

काठमाडौं । नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले तहसनहस भएको मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेकाले अब देश विकासले गति लिने बताए । महासचिव पोखरेलले नेपाली काङ्ग्रेस र एमालेको सरकार बने पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षाअनुसार काम गर्न नसकिएको बताए ।

उनले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नरहने तर, एमालेमाथि नै आरोप र हमला हुने गरेको उनको भनाइ रहेको छ । इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको उनले बताए ।

असान्दर्भिक भइसकेका राजावादीहरूले एमालेमाथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको महासचिव पोखरेलले उल्लेख गर्दै यो कुरा नयाँ पुस्तालाई बुझाउनुपर्ने र त्यो काम राष्ट्रिय युवा सङ्घ नेपालले गर्नुपर्ने बताए । एमाले र काङ्ग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएको समेत बताए ।

महासचिव पोखरेलले वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्वविरुद्ध केन्द्रित रहेका बताए । आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका उनले आरोप लगाए ।

प्रतिक्रिया