नेपाल मेडल १८१६

सन् १८१४-१८१६ मा भारतमा रहेको इष्ठ इन्डिया कम्पनीले नेपालसँग भएको युद्धमा विजय प्राप्त गरेपछि अङ्ग्रेज सरकारले आफ्नो सैनिकहरूलाई मेडल दिएको थियो । यस मेडललाई नेपाल वार मेडल (Nepaul War Medal) भन्ने गरिन्छ । यो मेडल केवल ३०० वटा बाँडिएको थियो । यस मेडल दिने बेलायती सरकार नभएर The Honorable East India Company (HEIC) थियो भने त्यस समय बेलायतमा जर्ज तेस्रो राजा हुनुहुन्थ्यो ।
जम्मा बाँडिएको ३०० वटा मेडलमा दुइ ठूला अफिसरका लागि सुनका तथा बाकी अन्य सैनिकहरुका लागि चादीका मेडल बाँडिएको थियो । जम्मा ५१ मिमी ब्यास भएको यस मेडलको एक तर्फ गोर्खालीहरुसंग मलाउको किल्लामा भएको युद्धको प्रतिकका रुपमा राखिएको थियो । चित्रमा मलाउको किल्लामा गोर्खाली सैनिकहरुको किल्ला रहेको तथा फेदीमा तोपका साथ अंग्रेज सेना रहेको देखाइएको छ ।
मेडलको पृष्ठ भागमा फारसी भाषामा लेखिएको छ । जसको नेपाली अनुवाद, यो पदक नवाब गभर्नर-जनरल बहादुरले हिजरी सम्वत १२२९ र १२३० को वर्षहरूमा पहाडहरूमा आफ्नो अभियानको क्रममा प्रदर्शन गरिएको शक्ति, राम्रो सेवा, सीप तथा साहसको प्रमाण स्वरूप प्रदान गरिएको छ ।
अंग्रेजसंगको युद्धमा देउथलमा वि.सं. १८७२ बैशाख ५ गते भक्ति थापाको देहान्त भएको थियो । इतिहासमा सरदार भक्ति थापाको मृत्युसंगै अंग्रेजसंगको युद्ध समाप्त भएको भन्दै इतिहासमा लेखिएको पाइन्छ । तर भक्ति थापाको देहान्त पछि सुब्बा प्रल्हाद गुरुङले युद्धको नेतृत्व लिएका थिए । भोलिपल्ट प्रल्हाद गुरुङको युद्ध भूमीमा मृत्यु भएको थियो ।
बैशाख ६ गते सुब्बा प्रल्हाद गुरुङको देहान्त हुनु अगाडि उनले अंग्रेज सेनाको झण्डा खोस्नुका साथै कमाण्डरको जेठी तरवार समेत खोसेका थिए । जुन अझै पनि प्रल्हाद गुरुङको स्मृतिमा राखिएको कास्कीको चौरामा रहेको उनको पुर्ख्यौली घरमा संरक्षित गरेर राखिएको छ । यसका साथै अंग्रेजको झण्डा पनि राखिएकोमा हाल सयौ वर्ष भएको हुँदा झण्डाको कपडा मक्किएर बिग्रिसकेको देखिन्छ । अंग्रेजसंग वीरताका साथ लडेका भक्ति थापालाई विभूति घोषणा गरिए पनि सुब्बा प्रल्हाद गुरूङलाई भने राज्यले चिन्न पनि सकेको देखिदैन ।
तर अंग्रेज तर्फबाट गोर्खाली बिरूद्ध लड्ने योद्धाहरुलाई भने अंग्रेज सरकारले सम्मान स्वरूप तक्मा दिइएको थियो । जुन निकै कम संख्यामा मात्र भेटिएको छ । हाल यस नेपाल मेडलको संकलक मूल्य हाल ६०० पाउण्ड भन्दा बढी रहेको छ ।
प्रतिक्रिया