वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो ।
यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ ।
वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विगतका वर्षमा पटक–पटक समस्या आउने तीन पिप्लेदेखि अन्तिम फोहर वयवस्थापनस्थल बञ्चरेडाँडासम्मको सडक मर्मतको काम भइसकेकाले फोहर व्यवस्थापनका लागि सहज हुन्छ ।
राईका अनुसार तीन पिप्लेदेखि सिसडोलसम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन ।
महानगरका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार ६०० मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
काठमाडौं उपत्यकाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन बञ्चरेडाँडा लग्ने गरिएको छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्ने गरेको छ ।
सुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ मा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ ।
यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने हुन्छ । पछिल्लो समय महानगरले बञ्चरेडाँडामा लग्ने फोहर घटाउनका लागि ३२ वडालाई छ क्षेत्रमा निर्धारण गरेर फोहर वर्गीकरणको काम गरिरहेको छ । -रासस
प्रतिक्रिया