बिहीबार, असार १२, २०८२

स्रष्टाहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ : मन्त्री पाण्डे

नेपालखोज २०८२ असार १२ गते १०:४६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएका दिर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा उद्घोष गरेका हुन । नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्दै उनले भने, ‘यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं ।’

मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवद्र्धन सम्भव हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो अभौतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ ।’

राष्ट्रपतिको समउपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नो पहिचान, सम्पत्ति र पूँजीप्रति गरेको आदरको प्रतीक भएको मन्त्री पाण्डेको भनाइ थियो । उनले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजको नायक र राष्ट्रिय पहिचानको वाहकका रूपमा चित्रण गरे ।

सम्मानित हुने स्रष्टाहरूमा दीप श्रेष्ठ-दीर्घ साधना,हरि बहादुर थापा-रंगमञ्च विधा,नारायण रायमाझी-लोकसङ्गीत विधा,कुन्ति मोक्तान-सङ्गीत विधा,कुशेश्वर राई–परम्परागत तथा शास्त्रीय सङ्गीत,वेदकुमारी न्यौपाने-नाट्य विधा,भुवनदास श्रेष्ठ-नृत्य विधा,कृष्णप्रसाद–नृत्य खोजतथा अनुसन्धान र राजु अग्रवाल-वाद्यवादन विधाबाट सम्मान गरिएको हो ।

मन्त्री पाण्डेले नेपाली सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र विस्तारतर्फ राष्ट्र गम्भीर रूपमा अग्रसर रहेको सन्देश दिएको समेत बताए ।

प्रतिक्रिया