बिहीबार, असार १२, २०८२

‘वैदेशिक रोजगारबाट फर्केकाको सीपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ’

नेपालखोज २०८२ असार १२ गते १५:०५

मोरङ । सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूको सीप, पुँजी र प्रविधिलाई राष्ट्रहितमा प्रयोग गर्न आवश्यक सहयोग र सहजीकरण गर्नुपर्नेमा जोड इिएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनःएकीकरण’ सम्बन्धमा सञ्चारकमीसँग छलफल तथा समन्वय बैठकमा सहभागीले वैदेशिक रोजगारबाट फर्केकाहरूको सामाजिक, आर्थिक र सीपलाई उद्यमी बनाउने लक्ष्यसहित सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई समाजमा आर्थिक रूपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए । उनले विदेशबाट फर्केका युवाहरूको सीपलाई राष्ट्रिय पुँजीको बनाउनेतर्फ प्रदेश सरकारले पहल गरिरहेको बताए ।

मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन:एकीकरण(रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिको सीपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धि कायम गर्न सकिने सुझाव दिए । उनीहरूले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन ती सीप प्रभावकारी बन्ने धारणा राखे ।

वैदेशिक रोजगारीबाट फर्केका मोरङ केराबारी गाउँपालिका-१० की जीवनकुमारी राई र सुनसरी रामधुनी नगरपालिका-१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जानेले सम्बन्धित देशको भाषा र आवश्यक सीप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया