बिहीबार, असार १२, २०८२

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

नेपालखोज २०८२ असार १२ गते १६:५५

सुनसरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुव्र्यसन नियन्त्रणमा सबैको सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा आज जिल्ला प्रहरी कार्यालय र फ्यान जिल्ला कार्यसम्पादन समितिले आयोजना गरेको कार्यक्रममा उनले लागुपदार्थ नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबैको सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

देशको विकास, समृद्धि र सुशासनको बाधकका रूपमा रहेको लागुऔषध दुव्यर्सन नियन्त्रणमा सबैको भूमिका र दायित्व रहेकाले सोहीअनुसारले व्यक्ति, परिवार र समाजले आआफ्नो ठाउँबाट समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशका विभिन्न जिल्लामा अभियानका रूपमा दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन भइरहेको बताए । गाउँ, नगरका वडालाई क्रमशः लागुऔषध दुव्यर्सनमुक्त घोषणा गर्दै जाने अभियानमा प्रदेश सरकार रहेको जनाउँदै उनले समयमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न नसके यसले विकराल समस्या निम्त्याउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले समाजको सत्रुका रूपमा रहेको लागुऔषधको सेवन तथा दुव्र्यसनलाई कम गर्ने प्रयासमा सबै लाग्नुपर्ने बताए ।

प्रतिक्रिया