द्वपक्षीय सम्बन्ध विस्तारसहित आर्थिक कूटनीतिका पक्षमा लविङ जारी छ : राजदूत डा ओली

कुन्मिङ (युनान) । चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले द्विपक्षीय सम्बन्ध विस्तारसहित परिणाममुखी आर्थिक कूटनीतिका पक्षमा ‘लाविङ’ जारी रहेको बताएका छन् ।
छिमेकी मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजित नवौँ चाइना–दक्षिण एसिया एक्स्पो तथा २९औँ चाइना कुन्मिङ आयातनिर्यात मेलामा भाग लिन आएका राजदूत डा ओलीले प्रधानसम्पादक उत्तम सिल्वालसँग कुराकानी गर्दै सरकारी तथा निजी क्षेत्रको चिनियाँ लगानीसहित नवीन प्रविधि नेपाल भित्र्याउने पक्षमा अहोरात्र खटिरहेको बताए ।
चीनको जस्तै भू–बनोवट र हावापानी रहेको नेपालमा कृषि र जडीबुटी व्यवसायबाट लाभ लिन सकिने प्रशस्त सम्भावना रहको उल्लेख गर्दैै कृषि, योजना तथा व्यवस्थापन क्षेत्रका विज्ञसमेत रहेका डा ओलीले यसतर्फ चीन आर्जन गरेको विशिष्ट अनुभवसहित प्रविधि र लगानी नेपालमा भित्र्याउन सक्दो प्रयास गरिरहेको जानकारी दिए ।
विशेषगरी कृषि तथा जडीबुटीका क्षेत्रमा चीनले गरेको विकास र प्रगति नेपालमात्र नभई समग्र विश्वका लागि प्रेरणादायी र उदाहरणीय रहेको चर्चा गर्दै राजदूत डा ओलीले चीनसँगको सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । उनले विकास निर्माणसहित आर्थिक रुपले सम्पन्न एवं विशाल छिमेकी देश चीनबाट प्राप्त गर्नसक्ने कैयौँ थोक भए पनि हाम्रो सम्भावना, आवश्यकता र प्राथमिकताका आधारमा कृषि, जडीबुटी, पर्यटन, ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा सहयोग लिइ देशलाई लाभान्वित तुल्याउन सक्नुपर्ने खाँचो औँल्याए ।
राजदूत डा ओलीले भने, नेपालसँग ऐतिहासिक एवं घनिष्ठ सम्बन्ध रहेको छिमेकी मित्रराष्ट्र चीनले अहिले हरेक क्षेत्रमा चमत्कारिक एवं उदाहरणीय विकास गरेको छ । त्यसबाट नेपाल लाभान्वित हुनसक्नुपर्दछ । राजदूतका हैसियतले चीनको आधुनिक प्रविधि, अनुभव र लगानी नेपाल भित्र्याउने सरोकारवाला पक्षसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छु । अहिलेसम्म यहाँ भएका द्विपक्षीय छलफल र भेटघाटका आधारमा साथ, सहयोग प्राप्त हुने विश्वास लिएको छु ।
कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रमा सहकार्य गरी नेपाललाई लाभान्वित गर्ने पक्षमा आफू क्रियाशील रहेको जानकारी दिँदै उनले चीन सरकारका केन्द्रदेखि प्रान्तसम्मका अधिकारीसँग अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा भएका भेटघाट तथा छलफलको परिणाम चाँडै आउने अपेक्षा गरे । चिनियाँ नेता तथा अधिकारीहरू र सर्वसाधारण जनतासमेत बुद्धभूमि नेपाल तथा नेपालीको विकाससहित जीवनस्तर सुधारका पक्षमा रहेको जानकारी दिँदै राजदूत डा ओलीले चीनको यस किसिमको मित्रवत् एवं घनिष्ठ सम्बन्ध र सदीक्षाबाट नेपाल लाभान्वित हुनसक्नुपर्नेमा जोड दिए ।
चीनमा अहिले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धिदर उच्च विन्दुमा पुगेको बताउँदै नेपालले पनि उत्पादकत्व वृद्धिमा जाड दिइ वस्तु निर्यात गर्न र बजार व्यवस्थापन गरी वास्तविक कृषकलाई लाभान्वित तुल्याउन पहल गर्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक होङजीले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्न चीन सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
प्रतिक्रिया