शुक्रबार, असार १३, २०८२

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा छजनाको मृत्यु, नौजना बेपत्ता

नेपालखोज २०८२ असार १३ गते २१:४४

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा छ जनाको ज्यान गएको छ भने नौ जना अझै बेपत्ता रहेका छन् ।

उक्त घटना शुक्रबार बिहान भएको हो, स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा बिहान करिब साढे आठ बजे भएको हो ।

डस्का र मर्दान जिल्लाबाट आएका दुई परिवारका सदस्यहरू मनोरञ्जनको लागि स्वात नदीमा पसेका थिए । सोही समयमा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण नदीमा आएको अचानक बाढीले उनीहरूलाई बगाएको बताइएको छ ।

स्वातका प्रमुख जिल्ला अधिकारी शहजाद महबूबका अनुसार, ‘पानीको सतह अचानक बढेपछि जम्मा अठार जना मानिसहरू बाढीको प्रवाहमा परेका थिए ।’ घटना लगत्तै उद्धार टोली, स्थानीय स्वयंसेवकहरू र सुरक्षा निकायको सहकार्यमा खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो ।

प्रारम्भिक प्रयासमा तीन जनालाई जीवितै उद्दार गरिएको छ भने छ जनाको शव फेला परेको छ । नौ जना अझै वेपत्ता रहेका कारण मालाकन्ड जिल्लासम्म फैलाइएको ठूलो खोज अभियान जारी रहेको अधिकारीहरूले जनाएका छन् । जिल्ला प्रशासनका वरिष्ठ पदाधिकारीहरू स्वयं उपस्थित भई उद्धार कार्यको निगरानी गरिरहेका छन् ।

डिप्टी कमिश्नर महबूबले भने, ‘नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको अवस्थामा मौसम अनिश्चित भएकाले नदी तथा खोला नजिक नजान सबैमा आग्रह गरिन्छ ।’ -रासस/सिन्ह्वा

प्रतिक्रिया