शनिबार, असार १४, २०८२

गाउँपालिकाको लगानीले एसईई नतिजा सुधार

नेपालखोज २०८२ असार १४ गते ९:०८

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए ।

त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए । तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ ।

यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए ।

पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो ।

यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो ।

सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गरे । -रासस

प्रतिक्रिया