आइतबार, असार १५, २०८२

प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट जनतालाई समृद्ध बनाउनुपर्छः अध्यक्ष नेपाल

नेपालखोज २०८२ असार १५ गते १९:१७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घद्वारा राष्ट्रिय धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनमा आउने वृद्धिले त्यसको लागत घट्ने बताए ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको उल्लेख गर्दै उनले भने, हामीसँग भएका थुप्रै प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको उल्लेख गरे । उनले आफ्नो पार्टीले वैचारिक दृष्टिकोण निकट रहेका राजनीतिक दलहरुसँग सहकार्य गरी वामपन्थी आन्दोलनको रक्षा गर्दै कम्युनिष्ट विचार र लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया