सोमबार, असार १६, २०८२

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छु : सभामुख

नेपालखोज २०८२ असार १६ गते ५:२८

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

संसद् दिवस, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे ।

संसद दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गरेका हुन् । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाइन्छ ।

आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख घिमिरेको भनाइ छ । संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गर्दै उहाँले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताएका छन् । -रासस

प्रतिक्रिया