सोमबार, असार १६, २०८२

संसद्लाई जनमुखी बनाउन आवश्यक : अध्यक्ष दाहाल

नेपालखोज २०८२ असार १६ गते ५:४५

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, ‘हाम्रो साझा उद्देश्य संसद््लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसद्ीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ ।’

उनले संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रुपमा विकास गर्न संसद् दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले संसद् दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । -रासस

प्रतिक्रिया