किसानलाई ३६ करोड ३९ लाख रूपैयाँको रासायनिक मल बिक्री

काठमाडाैं । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ३६ करोड ३९ लाख ६३ हजार रूपैयाँको रासायनिक मल बिक्री वितरण गरेको छ । कम्पनीका अनुसार हालसम्म १४ करोड ३० लाख २२ हजार रूपैयाँको युरिया, २२ करोड २४ लाख ६५ हजार रूपैयाँको डिएपी र ८४ लाख ७५ हजार रूपैयाँको पोटास बिक्री वितरण गरेको कार्यालयका निमित्त कार्यालय प्रमुख बेचन साहले बताए ।
कार्यालयका अनुसार आव २०८१/८२ देखि हालसम्म कम्पनीले आठ हजार १७२ मेट्रिकटन युरिया प्राप्त गरेको प्रमुख साहले भने । यसैगरी डिएपी पाँच हजार २५८ मेट्रिकटन र पोटास २९७ मेटन प्राप्त गरेको हो ।
प्रमुख साहका अनुसार प्राप्त रासायनिक मलबाट कम्पनीले हालसम्म युरिया आठ हजार चार सय आठ दशमलव १५० मेट्रिकटन, डीएपी चार हजार ८३५ दशमलव एक सय ५० मेट्रिकटन र पोटास २४९ दशमलव दुई सय मेट्रिकटन मलखाद्य बिक्री वितरण गरिएको छ ।
प्रमुख साहका अनुसार गत वर्षको बाँकी मौज्दात युरिया ९६२ दशमलव पाँच सय मेट्रिकटन, डीएपी ८३ दशमलव ७५० मेट्रिकटन र पोटास ९८ दशमलव पाँच सय मेट्रिकटन रहेको थियो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा युरियाप्रति बोरा आठ सय ५०.५० पैसा रूपैयाँ, डिएपी २३ हजार रूपैयाँ र पोटास १७ हजार रूपैयाँ बिक्री मूल्य रहेको निमित्त प्रमुख बेचन साहले जानकारी दिए ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाले धनुषा जिल्ला र महोत्तरी जिल्ला गरी दुई सय नौ डिलरमार्फत उक्त मल वितरण गर्दै आएको छ । मलखाद्य निर्देशिका, २०७७ बमोजिम प्रत्येक पालिकामा स्थानीय मलखाद्य वितरण व्यवस्थापन समिति छ । उपमेयर वा उपाध्यक्षको प्रमुख संयोजक र सदस्यमा प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख कृषि सदस्य सचिव रहेको समितिले रासायनिक मलको दर रेट, कालो बजारी नियन्त्रण, बिक्री वितरण व्यवस्थापन गर्ने जिम्मा लिएको छ ।
प्रदेश भूमि व्यस्थापन तथा सहकारी मन्त्रालय बाट सम्बन्धित जिल्लामा पर्ने पालिकाले तोकेको कोटा बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड डिलरमार्फत मलखाद्य दिने गरेको साहले भने । प्राप्त विवरणअनुसार हालसम्ममा डिएपी मलको कोटा थप गरिने निर्णय भई आउने तरखरमा रहेको प्रमुख साहको भनाइ छ । धान, गहुँ मकैका साथै तेलहन बालिका लागि सो मल बिक्री वितरण गरिएको छ । रासस
प्रतिक्रिया