सोमबार, असार १६, २०८२

सर्पले टोकेर एक जनाको मृत्यु

नेपालखोज २०८२ असार १६ गते १८:३५

कैलाली । सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ । आफ्नै घर अगाडि काम गर्दैगर्दा उनको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको जोशीले बताए ।

त्यसैगरी, धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका एकजना आज घाइते भएका छन् ।

घाइते हुनेमा धनगढीको लल्लिपुर बस्ने गुलियादेवी चौधरी रहेको सूचना अधिकारी जोशीले बताए । चौधरी घरदेखि १०० मिटर टाढा खेतमा धानको बीउ निकाल्ने क्रममा अचानक चट्याङ पर्न गई उनको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । -रासस

प्रतिक्रिया