कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ
नेपालखोज
२०८२ असार १६ गते १९:५२

काठमाडौं । प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम तथा सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘आज दिउँसो काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।’
पक्राउ परेकाहरूले आफ्नो कोठामा लुकाइछिपाई राखेको अवस्थामा उक्त पेस्तोल र म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, रेडियो सेटको ब्याट्री १५ थान, खुकुरी एक थान तथा तीन थान मोबाइललगायत सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताए ।
सम्बन्धित
प्रतिक्रिया